प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आज देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्छन् । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उधौली र उभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगसन किरातले जानकारी दिए ।

साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ ।

उधौली र उधौलीमा किरात राईको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।