मोरङ । मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा पछिल्ला दिनमा सार्वजनिक भएका विवादबीच विद्यालयका महिला शिक्षक तथा कर्मचारीले घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमाको संरक्षण गर्न आग्रह गरेका छन्।
विद्यालयका सम्पूर्ण महिला शिक्षक तथा कर्मचारीले बुधबार संयुक्त ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयवस्तुप्रति आफूहरू गम्भीर बनेको जनाएका हुन्। उनीहरूले विद्यालयसँग सम्बन्धित घटनाको सत्यतथ्य स्थापित नभई एकपक्षीय रूपमा विभिन्न आरोप–प्रत्यारोप सार्वजनिक हुँदा विद्यालयको प्रतिष्ठा, शिक्षक–कर्मचारीको आत्मसम्मान तथा विद्यार्थीको सिकाइ वातावरणमा नकारात्मक असर परेको बताएका छन्।
विज्ञप्तिमा सुकुना माध्यमिक विद्यालय स्थानीय शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा समुदायको सामूहिक प्रयासबाट स्थापना भई लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै पछिल्लो विवादले विद्यालयप्रति समुदायमा चिन्ता बढाएको जनाइएको छ।
विद्यालयमा विद्यार्थीको सुरक्षा, सम्मान, न्याय र अधिकार सुनिश्चित गर्नु सबै शिक्षकको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि घटनाको निष्पक्ष अनुसन्धानबाट सत्य तथ्य बाहिर आए दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय दिनुपर्नेमा महिला शिक्षकहरूको जोड छ।
सुकुना क्याम्पस (सुकुना बहुमुखी क्याम्पस) मा हालै सार्वजनिक भएको यौन दुर्व्यवहारसम्बन्धी आरोप र त्यसपछि उठेको आन्दोलन, विरोध तथा सामाजिक सञ्जालमा फैलिएका बहसले समग्र सुकुना शैक्षिक क्षेत्रलाई प्रभावित बनाएको छ। उक्त घटनापछि विद्यालय र क्याम्पससँग सम्बन्धित विभिन्न विषयहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक रूपमा चर्चामा आएका छन्।
यही सन्दर्भलाई संकेत गर्दै महिला शिक्षकहरूले कुनै पनि घटनाको अनुसन्धान पूरा हुनुअघि अपुष्ट सूचना, अतिरञ्जित प्रस्तुति वा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। उनीहरूले राज्यका निकायले गरिरहेको अनुसन्धानमा सहयोग गर्न तथा कानुनी प्रक्रियालाई निष्कर्षमा पुग्न दिन सबै सरोकारवालासँग अपिल गरेका छन्।
विज्ञप्तिमा व्यक्तिगत गल्ती भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने तर त्यसका आधारमा सम्पूर्ण विद्यालय, शिक्षक वा कर्मचारीलाई सार्वजनिक रूपमा बदनाम गर्नु उचित नहुने उल्लेख गरिएको छ।
महिला शिक्षक तथा कर्मचारीले विद्यालयलाई सुरक्षित, शान्त र सम्मानजनक शैक्षिक वातावरणका रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको जनाउँदै विद्यार्थीका गुनासा सुन्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।




















