इटहरी। नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनबाट इटहरीका कर्मा लामा सह–महामन्त्रीमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनअन्तर्गत निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि दर्ता भएका उम्मेदवारको उम्मेदवारीउपर दाबी–विरोधका लागि तोकेको समयसीमाभित्र कुनै दाबी–विरोध नपरेपछि विभिन्न पदमा उम्मेदवारहरू निर्वाचन समितिले सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको हो ।
लामा समितिको केन्द्रीय कार्यसमितिको सह–महामन्त्री पदमा निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ । लामा सँगै भूपेन्द्र कँडेल पनि सह–महामन्त्रीमा सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनबाट सभापतिमा दिलीप पोखरेल, उपसभापतिमा सुवास तामाङ र दयाराम पौडेल तथा महामन्त्रीमा पुरन रोकाया निर्वाचित भए ।
त्यस्तै, अष्ट्रेलियाका विभिन्न राज्यका संयोजकसमेत सर्वसम्मत चयन भएका छन् । न्यू साउथ वेल्सको संयोजकमा राज गुरुङ र उपसंयोजकमा केशव सिंह थकुरी, साउथ अष्ट्रेलियामा निराजन खड्का, भिक्टोरियामा प्रकाशकाजी थापा, अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा जनक पौडेल, विन्सल्याण्डमा आशिक खड्का, वेस्टर्न अष्ट्रेलियामा निरज ढकाल, तास्मानियामा अर्जित मिश्र तथा डार्विनमा बिबेक ढकाल चयन भएका छन् ।
अधिवेशनबाट १८ जना केन्द्रीय सदस्य र ११ जना राज्य सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् ।
इटहरीका लामा लामो समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायसँग सम्बन्धित सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। नेपाली कांग्रेससँग आबद्ध नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको महत्वपूर्ण जिम्मेवारीमा उहाँ सर्वसम्मत चयन हुनुलाई अष्ट्रेलियास्थित नेपाली समुदायमा उहाँको संगठनात्मक भूमिकाको निरन्तरताका रूपमा हेरिएको छ ।
पाँचौँ अधिवेशन निर्वाचन समितिका सभापति सुरेश रणसिंह गुरुङले निर्वाचनसम्बन्धी प्रक्रिया पूरा भएपछि सर्वसम्मत निर्वाचित पदाधिकारी, राज्य संयोजक तथा सदस्यहरूको नाम सार्वजनिक गर्नुभएको हो ।




















