इटहरी, असार २६ — इटहरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा अध्यक्षका प्रत्याशी नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीमैत्री, पारदर्शी र राजनीतिक हस्तक्षेपमुक्त नेतृत्वको प्रतिबद्धता सार्वजनिक गरेको छ। समूहले उद्योग वाणिज्य संघलाई कुनै पनि राजनीतिक, सामाजिक, लैङ्गिक वा आर्थिक विभाजनभन्दा माथि उठाएर विशुद्ध व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेको हो।
प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको प्रतिबद्धतामा इटहरीलाई पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा थप सुदृढ बनाउन सक्षम, उत्तरदायी र दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ। समूहले निर्वाचन जित वा हारभन्दा पनि सम्पूर्ण व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अध्यक्षका प्रत्याशी नवराज काफ्लेले उद्योग वाणिज्य संघलाई व्यवसायीको विश्वास जित्ने संस्थाका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताए।
"उद्योग वाणिज्य संघ कुनै राजनीतिक प्रभावमा होइन, व्यवसायीको हितमा सञ्चालन हुनुपर्छ। म निर्वाचित भएँ भने साना, मझौला र ठूला सबै व्यवसायीको साझा प्रतिनिधिका रूपमा काम गर्नेछु। दिन होस् वा रात, व्यवसायीलाई समस्या पर्दा संघ सधैं साथमा रहनेछ," काफ्लेले भने।
उनका अनुसार अनावश्यक बजार बन्दको परम्पराको अन्त्य गर्दै निर्बाध व्यापार सञ्चालनको वातावरण निर्माण गरिनेछ। साथै इटहरीको व्यावसायिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न व्यापार मेला, प्रदर्शनी तथा लगानी सम्मेलन आयोजना गरिने योजना रहेको उनले बताए।
समूहले डिजिटल उद्योग वाणिज्य संघको अवधारणालाई पनि प्राथमिकतामा राखेको छ। सदस्यता नवीकरणलगायत अधिकांश सेवा व्यवसायीले घर वा आफ्नै पसलबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।
घरबहाल करको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी घरधनीमार्फत कर तिर्ने प्रणाली विकास गर्ने, स्ट्याट (STAT) तथा करसम्बन्धी समस्या समाधानका लागि राजस्व कार्यालयसँग सहकार्यमा नियमित तालिम सञ्चालन गर्ने तथा दोहोरो कर प्रणाली हटाउन पहल गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।
त्यसैगरी इटहरीलाई सूचना प्रविधि (आईटी) तथा स्टार्टअप व्यवसायको केन्द्रका रूपमा विकास गर्न बैंक तथा सरकारी निकायसँग सहकार्य गरी लगानी आकर्षित गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने योजना समूहले अघि सारेको छ।
महिला उद्यमशीलता प्रवर्द्धनका लागि डिजिटल मार्केटिङ, वित्तीय व्यवस्थापन तथा करसम्बन्धी तालिम सञ्चालन गर्ने, वित्तीय पहुँच विस्तार गर्ने र महिला उद्यमीको क्षमता विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
काफ्लेले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्था बनाउँदै पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
"इटहरीको व्यापार, उद्योग र लगानीको वातावरणलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट योजना हाम्रो समूहसँग छ। संघलाई व्यवसायीले गर्व गर्ने संस्थाका रूपमा स्थापित गर्न हामी प्रतिबद्ध छौँ," काफ्लेले भने।




















