कल्पना पोखरेल मैनालीको जन्म खोटाङ जिल्लाको सुन्दर गाउँ मजुवामा भएको हो। बाबु हेम प्रसाद पोखरेल र आमा स्वर्गीय जसमाया पोखरेलकी पाँच सन्तानमध्येकी कान्छी सन्तानको रूपमा जन्मिएकी कलपनाको बाल्यकाल अत्यन्तै साधारण परिवेशमा बित्यो। गाउँको हरियाली, प्राकृतिक सौन्दर्य र सादा जीवनशैलीमा हुर्किँदै गर्दा उनले जीवनका आधारभूत मूल्यहरू सिक्ने अवसर पाइन्।

खोटाङमै प्राथमिक तहसम्मको शिक्षा प्राप्त गरेपछि, उनको जीवनमा एक नयाँ मोड आयो। कक्षा ६ मा अध्ययन गर्न धरान आउने निर्णय सायद उनको जीवनलाई नयाँ दिशा दिने पहिलो कदम थियो। त्यहाँ आएपछि उनले पढाइसँगै विभिन्न सामाजिक र व्यवहारिक सीपहरू सिक्न थालिन्। तर, उनको जीवनको अर्को महत्वपूर्ण मोड भने ११ कक्षामा अध्ययन गर्दै गर्दा आयो, जब उनको विवाह बिमल मैनालीसँग भयो। विवाहपछि कल्पना को जीवनमा एकाएक जिम्मेवारीको भारी थपियो। श्रीमान् र परिवारको स्नेह त थियो, तर नवविवाहित जीवनका अनेकौं अपेक्षाहरूले उनीलाई भिन्न भूमिकामा ढाल्दै लगे। सासु(ससुराको सेवा, घरको काम, र समाजको अपेक्षा—यी सबै कुरा एकैपटक सम्हाल्नु सहज थिएन। तर उनी नथाक्ने बानीकी थिइन्।

२०७० सालमा उनी इटहरी बसाइँ सरेपछि जीवनले फेरि अर्को पाटो खोल्यो। त्यो समय उनी दुई सन्तानकी आमा भइसकेकी थिइन्। मातृत्वको सुखसँगै, जीवनका चुनौतीहरू पनि झनै गहिरा बन्दै गए। बालबच्चाको स्याहारसुसार, घरव्यवहार, र आर्थिक अवस्था मिलाउनुपर्ने जिम्मेवारीले उनलाई समय–समयमा थकित बनायो। तर ती क्षणहरूमा उनले आत्मसाक्षात्कार गरिन्—जीवनमा केही फरक गर्नुपर्ने, आत्मनिर्भर बन्ने र आफ्नै पहिचान बनाउनुपर्ने सोच पलायो।

त्यही सोचको परिणामस्वरूप उनले ब्यूटी पार्लरको कोर्स गर्ने निर्णय लिइन्। त्यो समय महिलाहरूका लागि स्वरोजगारका अवसरहरू निकै सीमित थिए। समाजमा अझै पनि महिलाहरूलाई घरभित्रै सीमित राख्ने सोच बलियो थियो। यति हुँदा हुँदै पनि कल्पना आत्मनिर्भर बन्न चाहन्थिन्। उनले कोर्स पूरा गरिन् र पार्लर व्यवसाय सुरू गर्ने सपना बुन्दै अघि बढिन्। तर, सपना सजिलो थिएन। व्यवसायको सुरुवाती दिनहरू अत्यन्त चुनौतीपूर्ण थिए। साना नानीहरूको स्याहार गर्नु, घरको काम हेर्नु र त्यसैबीच व्यवसाय सञ्चालन गर्नु—यी सबै कुराले उनलाई कहिलेकाहीँ थकित तुल्याउँथे। एकातिर पार्लर सञ्चालनका लागि आवश्यक प्राविधिक सीपमा निपूर्ण बन्नुपर्ने चुनौती थियो भने अर्कातिर ग्राहकहरूको मन जित्नुपर्ने दबाब। कहिलेकाहीँ उनले आफैंलाई प्रश्न गर्थिन्—ूके म सफल हुन सक्छुरुू तर उनको भित्रि शक्ति, अठोट र लक्ष्यप्रतिको समर्पणले उनलाई रोक्न सकेन।

दिनरातको मिहिनेतले गर्दा बिस्तारै उनका ग्राहकहरू बढ्न थाले। उनले आफूले कोर्समा सिकेका सीपहरू मात्र होइन, आफैंको अनुभवका आधारमा नयाँ तरिकाहरू प्रयोग गर्दै सेवा प्रदान गर्न थालिन्। हरेक ग्राहकसँगको आत्मीय व्यवहार, विश्वासिलो सेवा  व्यवहारले गर्दा उनीप्रति विश्वास बढ्दै गयो। धेरै पुराना ग्राहकहरू अझै पनि उनको सेवा लिन आउँछन्, जसले कलपनाको सीप र व्यावसायिक इमान्दारतालाई पुष्टि गर्छ।

आज, कलपना पोखरेल मैनालीको मासिक आम्दानी ६०,००० रुपैयाँभन्दा माथि छ। यो आम्दानीले  उनलाई आर्थिक रूपमा सबल बनाएको छ, तर आत्मविश्वासले भरिएको एक सफल महिलाको रूपमा स्थापित गराएको छ। उनले समाजको परम्परागत सीमाना तोडेकी छन्—त्यो समाज जहाँ महिलालाई अझै पनि घरभित्र मात्र सीमित राख्ने प्रयास गरिन्छ। कलपना आफ्ना सफलताका पछाडि परिवारको महत्वपूर्ण भूमिका रहेको मान्छिन्। श्रीमान्, सासु(ससुरा र छोराछोरी सबैको साथ र समर्थनले उनलाई आत्मबल दिएको छ। खासगरी  ससुरा र आमाजु दिदिको सहयोगले उनलाई हरेक चुनौती पार गर्न सहयोग पुर्‍यायो। उनी भन्छिन्, “परिवारको साथ र विश्वासले मानिसलाई सबैभन्दा बलियो बनाउँछ।