इटहरी । सरकारले आर्थिक विधेयक, २०८३ मार्फत व्यवस्था गरेको नयाँ 'स्वास्थ्य तथा शिक्षा समता शुल्क' आज (साउन १) देखि कार्यान्वयनमा आएको छ। यससँगै विद्युत्, निजी विद्यालय, निजी अस्पताल तथा राइड सेयरिङ सेवामा अतिरिक्त शुल्क लाग्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार विद्युत् महसुलमा ५ प्रतिशत, निजी विद्यालयको शुल्कमा ३ प्रतिशत, निजी अस्पतालले बिरामीबाट लिने सेवाशुल्कमा ३ प्रतिशत तथा राइड सेयरिङ सेवामा ५ प्रतिशत का दरले समता शुल्क संकलन गरिनेछ।
सरकारले उठेको रकम 'स्वास्थ्य तथा शिक्षा समता कोष' मा जम्मा गर्ने व्यवस्था गरेको छ। उक्त कोषबाट विपन्न, आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्न खर्च गर्ने सरकारी लक्ष्य छ।
अर्थ मन्त्रालयका अनुसार यो शुल्क नियमित करभन्दा फरक उद्देश्यका लागि संकलन गरिने विशेष शुल्क हो। सरकारले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, उपचारमा आर्थिक सहायता, छात्रवृत्ति, विद्यालय पूर्वाधार सुधार तथा आधारभूत सेवामा पहुँच बढाउन यो कोष उपयोग गर्ने जनाएको छ।
नयाँ व्यवस्थापछि निजी अस्पतालमा उपचार गराउने बिरामीले अस्पतालले तोकेको सेवा शुल्कमा थप ३ प्रतिशत समता शुल्क तिर्नुपर्नेछ। त्यसैगरी निजी विद्यालयले विद्यार्थीबाट लिने शुल्कमा पनि ३ प्रतिशत थप हुनेछ। विद्युत् उपभोक्ताले मासिक महसुलमा ५ प्रतिशत र राइड सेयरिङ सेवा प्रयोगकर्ताले भाडामा ५ प्रतिशत समता शुल्क तिर्नुपर्नेछ।
सरकारले सामाजिक न्याय र समान पहुँचको अवधारणालाई कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य र शिक्षाको सेवा सहज रूपमा प्राप्त गर्न कोष प्रभावकारी हुने सरकारको विश्वास छ।
यद्यपि, नयाँ शुल्क लागू भएसँगै निजी क्षेत्रका व्यवसायी, विद्यालय सञ्चालक, अस्पताल तथा राइड सेयरिङ प्लेटफर्महरूले सेवा लागत बढ्ने र त्यसको प्रत्यक्ष भार उपभोक्तामाथि पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले पनि शुल्कबाट संकलित रकम पारदर्शी रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका छन्।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्य राख्दै यो व्यवस्था ल्याएको हो। अब साउन १ गतेदेखि यी चार क्षेत्रका सेवाग्राहीले सम्बन्धित सेवाको मूल्यसँगै समता शुल्क पनि अनिवार्य रूपमा तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।




















