इटहरी । इटहरीमा जारी तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा केराबारी फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शनिबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा केराबारीले झापाको जलथल फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
केराबारीको जितमा ओशन राई, भुवन बस्नेत र अनिल परियारले गोल गरे। खेलको १३औँ मिनेटमा ओशन राईले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको केराबारीका लागि भुवन बस्नेतले ५१औँ मिनेटमा गोल थप्दै अन्तर दोब्बर बनाए।
खेलको ८०औँ मिनेटमा अनिल परियारले गोल गरेपछि केराबारीको जित सुनिश्चित भएको थियो। उत्कृष्ट प्रदर्शन गरेका केराबारीका ओशन राई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गरे।
आयोजक द योङ ब्रदर्श क्लबका खेल संयाेजक बिज्ञान राईका अनुसार आइतबार हुने दोस्रो क्वाटरफाइनल खेलमा उदयपुरको बसाहा क्लब र सुनसरीको बराहक्षेत्रस्थित न्युस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहेताले गरेका थिए। चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीयसहित ८ टोली सहभागी छन्।
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २ हजार २ सय रुपैयाँ पाउनेछन्। त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १३/१३ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ।




















