इटहरी । इटहरी स्थित जनता बहुमुखी क्याम्पसकाे खेलमैदानमा जारी अन्तराष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा लोहोरुङ फुटबल क्लब संखुवासभाले शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा लोहोरुङ फुटबल क्लबले चुत्तन स्पोर्टिङ क्लब तेह्रथुमलाई ३–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

लोहोरुङका लागि अमित गजमेरले खेलको ५१औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५६औँ मिनेटमा मिलन लिम्बुले गोल थपे भने ६७औँ मिनेटमा बिनोद राईले निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे।

पराजित टोली चुत्तन स्पोर्टिङ क्लबका सन्तोष लिम्बुले ३८औँ र ८३औँ मिनेटमा दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका लोहोरुङ फुटबल क्लबका खेलाडी बिबेक राई ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत चैत्र ३ गते हुने चौथो क्वाटरफाइनल खेल आयाेजक द यंग ब्रदर्स क्लब इटहरी सुनसरी र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।