इटहरी — मारवाडी सेवा समिति, इटहरीको नवौँ साधारण सभाले श्यामसुन्दर अग्रवाल (डोकानिया)लाई संस्थाको नयाँ अध्यक्षमा चयन गरेको छ। मंगलबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न मतदान प्रक्रियामा अग्रवालले अन्य दुई प्रतिस्पर्धीलाई पराजित गर्दै स्पष्ट बहुमतका साथ विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार कुल ३१० मतदातामध्ये २५२ जनाले मतदान गरे। तीमध्ये ३९ मत बदर भएका थिए। अध्यक्ष पदका उम्मेदवारमध्ये अग्रवालले १२५ मत प्राप्त गरे भने प्रवीण विहारी खेतानले ३ मत र प्रदीपकुमार सन्थालियाले ८५ मत पाए।

निर्वाचनपछि अध्यक्ष बनेका अग्रवालले सबै सदस्यबीच सहकार्य र एकतालाई प्राथमिकता दिने प्रतिवद्धता जनाए। उनले भने, “हामी सबै मिलेर समितिलाई सामाजिक सेवाको आदर्श संस्था बनाउने लक्ष्य लिएका छौं।”

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिवस पोखरेलले मारवाडी समुदायले देशको आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।