यसवर्षको मनसुन बाहिरिएसँगै मौसम घमाइलो भएको छ । हिजोसम्म आकाशमा बादल लागेकोमा आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको आकाश सफा देखिएको छ ।
काठमाण्डौ वरपरका डाँडा र हिमालहरु पनि प्रष्ट देखिएका छन् । गएको असोज २० गतेदेखि बाहिरिन शुरू भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी हिजोदेखि देशभरबाट बाहिरिएको हो । असोज २० गते सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही ठाउँबाट मनसुन बाहिरिन शुरू भएको थियो ।
मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान माहशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।




















