राजधानीमा भाडामा बस्ने प्रहरीलाई घरबाट निकाल्ने अभियान सुरु भएको छ। हिजो  भएको जेन–जीको आन्दोलनमा स्कुल ड्रेसमा रहेका विद्यार्थीमाथि गोली प्रहार भएको घटनापछि केही घरबेटीहरू सामाजिक सञ्जालमार्फत प्रहरीलाई बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।

एक घरबेटीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म मेरो घरमा बस्ने प्रहरीलाई घरबाट निकाल्ने सोचमा छु। बच्चा मार्नेहरूलाई कहिल्यै घरमा आसरा दिएर बसाउन सकिँदैन।” उनका यस्ता अभिव्यक्तिहरूले अन्य घरबेटीहरूलाई पनि भावनात्मक रूपमा आन्दोलनतर्फ आकर्षित गरेको देखिन्छ।

आन्दोलनमा पाँच घण्टा मात्र चलेको प्रदर्शनमा विद्यार्थीमाथि गोली चलेको भन्दै प्रहरीको कठोर आलोचना भइरहेको छ। नागरिकहरूले प्रहरी आदेशपालनमा मात्र सीमित नभई अनावश्यक बल प्रयोग गरेको भन्दै प्रश्न उठाइरहेका छन्।

समाजशास्त्रीहरूको भनाइमा, यो अभियान तत्काल भावनामा आधारित भए पनि दीर्घकालीन रूपमा यसले प्रहरी–नागरिक सम्बन्धमा गहिरो खाडल ल्याउन सक्छ। प्रहरीलाई आदेश पालन गर्ने संस्थाका रूपमा हेर्ने कि प्रत्यक्ष दमनकारी शक्तिका रूपमा लिने भन्ने बहस अझै बढ्ने संकेत देखिन्छ।