सप्तरीको खडक नगरपालिकामा सर्पदंशबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर(९, लालपट्टी घर भएकी ७० वर्षीया भुलुरबती साहको सर्पदंशबाट मृत्यु भएको हो ।

शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले उनको बाँया हातमा टोकेको परिवारले जनाएको छ।  घाइते साहलाई तत्कालै श्रीबरख गण सर्पदंश उपचार केन्द्र, कल्याणपुर ल्याइएको र सामान्य उपचारपछि थप उपचारका लागि सिराहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो ।

अस्पतालमा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । मृतकको शव सोही अस्पतालमै राखिएको र घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।