पाँचथरमा आर्थिक वर्ष २०८१–८२ मा  लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् ।

विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ । गत आवको एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन् । 

गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए । घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।

 गत आवमा कारण नखुली १४ जनाको अकस्मात ज्यान गएको छ । यसैगरी अचानक बिरामी भएर र खोलाले बगाएर छ–छ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर दुई–दुई जनाको ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए । यसैगरी चट्याङ लागेर, रुखले किचेर, सवारीसाधनबाट र पहिरोमा परेर एक–एक जनाको ज्यान गएको छ ।