कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएका छन् । कारागारमा पुरुष कैदीका लागि एक सय ४० र महिला कैदीका लागि २० जनाको क्षमता भए पनि चार सय ४३ जना पुरुष र २७ जना महिला राखिएको छ । 

आइतबार जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको संयोजकत्वमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी र मानवअधिकारकर्मीले कारागारको निरीक्षण गर्दा कारागारमा जीर्ण भवनमा क्षमता भन्दा बढी कैदी भेटिएको जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले जानकारी दिए । “अनुगमनको क्रममा जीर्ण भवनमा क्षमता भन्दा बढी बैदी राखिएको पाइयो,” उनले भने, “भवनको प्लास्टर फुटेको, शौचालयको समस्या छ, भवनको मर्मत आवश्यक छ ।” उनले भूकम्प आएका बेला जीर्ण भवन जोखिम अवस्थामा रहेकाले मर्मत सम्भार आवश्यक रहेको बताए ।

कारागारमा सबैभन्दा बढी लागुऔषधका एक सय ७६ कैदीबन्दी रहेका छन् । “कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता एक सय ४० जना हो,” उनले भने, “क्षमता भन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ ।”