सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  ।

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।

लामिछानेको सचिवालयले  १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय  तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा। बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार ९आज० मात्रै थाहा पाएको बताए । लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि  गृह मन्त्रालयले रोकेको छ ।

रुपन्देही जिल्ला  अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।