सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण बर्दीबास–५ स्थित पूर्वपश्चिम लोकमार्गको लचका बगाउँदा मङ्गलबार बिहानदेखि आवागमन ठप्प भएको छ । जङ्गली क्षेत्रबाट तीव्र गतिमा आएको वर्षे भलले बिहान पौने ८ बजेदेखि लोकमार्ग अवरुद्ध भएको इलाका प्रहरीका डिएसपी विकास बमले बताए । वर्षे भलले करिब ३० फिट सडक कटान गर्नुका साथै लचकामा रहेकोे ह्युमपाइपसमेत बगाएपछि दुईतर्फी आवागमन ठप्प छ । 

जङ्गली क्षेत्रमा अलपत्र यात्रु तथा सवारी पानीको बहाव कम हुने प्रतीक्षामा छन् । कटान क्षेत्रमा बिहानैदेखि बर्दीबास ट्राफिक निरीक्षक लक्ष्मीराज जोशीसहितका प्रहरीले सवारी व्यवस्थापनका प्रयास गरिरहे पनि मौसम प्रतिकूल भएकाले कतिबेला आवागमन सुचारु हुने हो अनिश्चित छ । कटान क्षेत्र नजिकै निर्माणाधीन कल्भर्टका ठेकेदार चाइनिज ठेकेदार शान्ति तथा रसुवागढी ज्वाइन्ट भेन्चरले हतारमा रहेका पैदल यात्रुलाई डोजरमा बोकेर सडक वारपार गराइरहेको छ ।

सोही ठेकेदार कम्पनीले जङ्गली भलले बगाएर लगेको लचकाको ह्युमपाइपलाई जोडजाड गरी बाटो खुलाउने प्रयास गरिरहेको छ ।