पाँचथरको याङवरक गाउँपालिका(१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका बालबालिका स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मङ्गलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बालबालिका साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका थिए । बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी चौकी, वडा कार्यालय तथा जनप्रतिनिधिहरू  गाउँ र आसपासको जङ्गल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

यसैबिच साविक च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने बिरुवा खोलामा दुवै जनाको शव भेटिएको याङवरक १ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए। बालबालिकाको शव घटनास्थलको प्रकृति मुचुल्का तयार गरेर पोष्टमार्टका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए । घटनाको अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको पनि बुढाथोकीको भनाइ छ ।