पुत्रदा एकादसी पर्वका अवसरमा पवित्रतीर्थ गोसाइँकुण्ड स्नानका लागि सयौ भक्तजन सुलाद्री पर्वतको आरोहण गरिरहेका छन् । एकादसीका दिन बाँझोपन भएका महिला÷पुरूषले एकसाथ स्नान गरी कुण्डमा पूजाआराधना गर्दा भगवान् शिवको आशिर्वादले सन्तान प्राप्त हुने मान्यता रही आएको छ । 

अन्जानमा गरेका सवै पाप मोक्ष हुने धार्मिक विश्वासका साथ भक्तजन पुत्रदा एकादसी पर्वदेखि जनैपूर्णिमा दिनसम्म विशेष पर्वको अवसरमा निलाद्री पर्वतमा विराजमान रहेका भगवान् शिवको दर्शन गर्ने चलन छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रसुवामा रहेको पौराणिक एवं धार्मिक कुण्डमा स्नान तथा पुजा गर्ने चलन छ ।

पुर्णिामाको दिनसम्म यस वर्ष पनि १५ हजार तिर्थालुले पवित्रकुण्डको स्नान गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए । पुत्रदा एकादशी पर्वमा गोसाइँकुण्ड स्नानका लागि पाँच सयभन्दा बढी भक्तजन आजै लौरीविनायकको उज्यालो चढ्दै गरेको, भक्तजन आउने क्रम जारी रहेको, कुण्डमा स्नान गरेपछि शरीरको चिसोपन हटाउन, धुञ्चेका युवा समूहमार्फत निःशुल्क तातोपानीको व्यवस्था मिलाइएको, धुञ्चेदेखि खन्तिसम्म बाटोको सरसफाइ, धार्मिक मार्गमा खानेपानीको व्यवस्थापान, ठाउँठाउँमा अस्थायी आवास थर्कुको व्यवस्थापन, गोसाइँकुण्ड, बुद्वमन्दिर चोलाङपाटी चन्दनवारी, देउराली तिवारी बगर र धुञ्चे क्षेत्रमा सबै यात्रुलाई उपचार आवश्यक पर्ने पूर्वाधारका सबै व्यवस्था मिलाइएको अध्यक्ष डिएमले जानकारी दिए ।