पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोको उत्तरी क्षेत्रमा रहेको सैन्य अड्डामा सशस्त्र समूहले गरेको आक्रमणमा करिब ५० सैनिकको मृत्यु भएको छ । मंगलबार एक स्थानीय नेता र एक बासिन्दाले यो जानकारी दिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

आक्रमण अल–कायदासँग सम्बद्ध जमात नस्र अल–इस्लाम वाल–मुस्लिमीन ९जेएनआईएम० समूहले गरेको आशंका गरिएको छ । आक्रमण सोमबार बौल्सा प्रान्तको डार्गोमा भएको थियो । सैन्य कारबाहीको डरले आफ्नो नाम गोप्य राख्ने शर्तमा दुई स्रोतले एसोसिएटेड प्रेसलाई बताएअनुसार करिब १०० लडाकुले यो आक्रमण गरेका थिए  ।   आक्रमणकारीहरूले सैन्य अड्डा जलाएका छन् । उनीहरूले सैन्य अड्डाबाट हतियार, गोलाबारुद र अन्य सामान लुटेका छन् ।   बुर्किना फासोको सैन्य सरकारले यो घटनालाई हालसम्म सार्वजनिक रूपमा स्वीकार गरेको छैन । जेएनआईएमले पश्चिम अफ्रिकामा सयौँ नागरिक र सैनिकको हत्या गरेको जिम्मेवारी लिएको छ । 

देशको अधिकांश ग्रामीण क्षेत्रमा यस्ता सशस्त्र समूहको नियन्त्रण छ, जसले राजनीतिक अस्थिरता बढेको छ । एक वर्षभित्र दुईवटा सैन्य कू भएको छ । टाइम्स अफ इन्डिया