लागुपदार्थको बढ्दो कारोबारबाट सामाजिक क्षेत्रमा नकारात्मक असर पर्दै गएपछि अवैध कारोबार नियन्त्रण गर्न चलाएको निरन्तर अभियानका क्रममा झण्डै दुई हजार व्यक्तिहरु पक्राउ परेका छन् । लागुऔषधका कारण युवाहरुमा नकारात्मक लत बस्ने र त्यसले सामाजिक अपराधलाई समेत बढाउने गरेका कारण प्रहरीले अभियानकै रुपमा नियन्त्रणको प्रयत्न गरेको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुबाट ब्राउन सुगर, चरेस र विभिन्न मनोदिपक औषधी भित्रिने र नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेकोले गतवर्ष प्रहरीले तस्करीको उक्त सञ्जाल तोड्न बढी मिहिनेत गरेको देखिएको हो ।
कोशी प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा लागुपदार्थ कारोबारमा संलग्न एक हजार ९८५ जनालाई पक्राउ परेका छन् । जसमा एक हजार ८८८ पुरुष र ९७ महिला छन् । तर पक्राउ पर्ने अधिकांश व्यक्तिहरु स–साना परिमाणमा ओसारपसार गर्ने ‘भरिया’ र प्रयोगकर्ताहरु मात्रै हुन् । तस्करीको मुख्य सञ्जाल भने प्रहरीले पूर्णरुपमा तोड्न सकेको छैन ।
प्रहरीको सक्रियताका कारण एक वर्षमा ठुलो परिमाणमा अवैध लागुऔषध र लागुपदार्थ बरामद भएको छ । असार मसान्तसम्म प्रहरीले पाँच किलो ४८९ ग्राम ब्राउन सुगर, ६ लाख १५ हजारभन्दा बढी लागुऔषधका चक्की र क्याप्सुल बरामद गरेको छ । यसैगरी, प्रदेश प्रहरीले लागुऔषधको अर्को मुख्य स्रोत गाँजा नियन्त्रणमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको पाइएको छ । कोशी प्रदेशमा एक वर्षमा २६ हजार ७०५ किलो गाँजा सीमावर्ती जिल्लाहरुबाट बरामद भएको छ । विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लाहरू धनकुटा, भोजपुर र उदयपुरमा अवैध रूपमा गाँजाको व्यावसायिक खेती हुने गरेको छ । ती जिल्लाहरुमा उत्पादन भएको गाँजा विभिन्न सवारी साधन तथा कोशी नदीको जलवहावमार्फत तराईसम्म ल्याउने र अनुकुलता हेरेर भारततर्फ तस्करी गर्ने गरिएको छ । त्यसमा सङ्गठित गिरोहको संलग्नता रहेको प्रहरीको आशङ्का छ तर प्रहरी उक्त गिरोहसम्म पुग्न असमर्थ रहँदै आएको छ । पूर्वी तराईको झापा, मोरङ र सुनसरीका ग्रामीण क्षेत्रबाट खुला सीमानाको प्रयोग गरेर गाँजा भारततर्फ तस्करी हुने गरेको पाइएको छ । प्रहरीले गाँजा उत्पादन हुने ती जिल्लाहरुमा लगाइएको गाँजाका बोटहरु बर्सेनि नष्ट गर्दै आएको छ ।
गतवर्ष पनि प्रहरीले १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट काटेर नष्ट गरेको थियो । यद्यपि, प्रहरीको यो अभियानका बाबजुद पनि पहाडी क्षेत्रमा लुकिछिपी गाँजा उत्पादन गर्ने र त्यसलाई तस्करी गर्ने क्रम रोकिएको छैन ।




















