बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो ।

अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन् । उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन् । बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बीउ पुँजी उपलब्ध गराएको छ । वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ ।

साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन् । “हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौँ, अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौँ”, समूहकी अध्यक्ष कोपिला किसानले भनिन्, “बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौँ ।” अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन् । रासस