अमेरिकाले युक्रेनलाई ३२२ मिलियन अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । वायु रक्षा प्रणाली र बख्तरबन्द सैन्य सवारीसाधनहरू पनि अमेरिकाले बिक्री गर्ने भएको छ । यो निर्णय त्यति बेला आएको हो, जब रूसले युक्रेनमाथिको हमला तीव्र बनाएको छ । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार १५० मिलियन डलर बख्तरबन्द सवारीसाधनको मर्मत र रखरखावका लागि तथा १७२ मिलियन डलर वायु रक्षा मिसाइल प्रणालीका लागि छुट्याइएको छ । यो प्रस्ताव अमेरिकी संसद ९कंग्रेस०मा पेस भइसकेको छ ।
केही हप्ताअघि अमेरिकी रक्षामन्त्री पीट हेजसेथले अमेरिकाको आफ्नै हतियार भण्डारको मूल्यांकनका लागि युक्रेनलाई हतियार पठाउन रोक लगाएका थिए । यो निर्णयले ह्वाइट हाउसलाई पनि चकित बनाएको बताइएको थियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अडान परिवर्तन गर्दै युक्रेनलाई थप हतियार सहायता दिने घोषणा गरे ।
सन् २०२२ मा रूसले युक्रेनमाथि हमला गरेपछि अमेरिकाले युक्रेनलाई हालसम्म ६७ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरिसकेको छ । अमेरिकाले पटक–पटक आफ्ना सहयोगी राष्ट्रहरूलाई युक्रेनलाई वायु रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गर्दै आएको छ । तर, आफैँ रूसी खतरामा रहेका पूर्वी युरोपेली देशहरू यस्ता उच्च प्रविधियुक्त प्रणाली दिन तयार छैनन् । एपी




















