बक्सअफिस र फिल्म बजारका धेरै नियमलाई भत्काउँदै ‘सैयारा’ले भारतमा कीर्तिमान कमाइ गरेको छ । फिल्मले पाँच दिनमा भारतभर १३३.७५ करोड नेट भारु कमाएको छ ।

रोचक के छ भने, लगातार ५ दिनसम्म फिल्मले २० करोड भारुभन्दा माथिको संख्यामा कमाइ गरेको छ । २२ करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार सर्वाधिक ३६.२५ करोड भारु कमायो ।  मंगलबारको कमाइ २५ करोड भारु कमाइ गरेको छ । फिल्मको कमाइबारे बलिउड ब्यापार विश्लेषक तरण आदर्श भन्छन्, ‘मंगलबारको संख्या सोमबारको भन्दा बढी छ र सोमबार पहिले नै शुक्रबार भन्दा बढी थियो ।’

‘यो उपलब्धिलाई अझ प्रशंसनीय बनाउने कुरा के हो भने यी संख्या नियमित सप्ताहन्त र काम गर्ने दिनहरूमा आएका हुन्’ आदर्श लेख्छन्, ‘ मंगलबारको टिकटमा दिइएको छूटले पक्कै पनि मद्दत गर्‍यो तर, फिल्मको गति तत्काल रोकिने देखिँदैन ।’

४८ करोड भारु बजेटमा निर्माण भएको फिल्मले चौंथो दिनमै लगानी उठाएको थियो । ‘ बुधबार र बिहीबार बलियो पकडको अपेक्षा गरिएको छ र यो शुक्रबार कुनै ठूलो फिल्म रिलिज नहुने भएकाले फिल्मले यो सप्ताहन्तमा पुनः एकपटक उछाल कमाइ गर्ने देखिन्छ’ तरण आदर्शले उल्लेख गरेका छन् । यो फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो कमाइ गरिरहेको देखिएको छ ।