नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकाको आयोजनामा बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा इटहरीमा रहेका विभिन्न १८ वटा सामुदायिक र संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा राष्ट्रिय माध्यमिक बिध्यालय प्रथम हुँदै  नगद दस हजार पुरस्कार प्राप्त गर्यो। त्यसैगरी विश्व आदर्श दोश्रो हुँदै  नगद ७ हजार प्राप्त गर्यो भने एण्डुटेक बिध्यालय तेश्रो हुँदै नगद पाँच हजार प्राप्त गरेको आयोजकले बताएको छ । 

कार्यक्रमको उद्देश्य बीपी कोइरालाको जीवन दर्शन, विचार र योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनु रहेको  नेपाली काँग्रेस इटहरीले जनाएको छ। नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकाका कार्यवाहक सभापति कोबिदजंग कार्कीले भन्नुभयो, “बीपी कोइरालाको लोकतान्त्रिक मूल्य र सामाजिक न्यायप्रतिको धारणा विद्यार्थीहरूमाझ प्रवाह गर्न हामीले यस्तो कार्यक्रमको आयोजना गरेका हौं।” कार्यक्रममा बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदानबारे प्रकाश पार्दै प्रमुख बक्ता प्रज्वल पराजुलीले विद्यार्थीहरूसँग संवाद गर्नुभएको थियो। उहाँले बीपीलाई नेपालको राजनीतिक परिवर्तनका नायकका रूपमा वर्णन गर्दै, “बीपी कोइरालाले प्रजातन्त्रको स्थापना मात्र होइन, नेपाली साहित्यमा पनि गहिरो छाप छोड्नुभएको छ,” भन्नुभयो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हाजिरीजवाफमार्फत बीपी कोइरालाको जीवन, आदर्श, संघर्ष र कृतिहरूबारे आफूले बुझेका कुरा प्रस्तुत गरे। कार्यक्रमले विद्यार्थीहरूमा इतिहास र मुलुकप्रतिको चेतना जागृत गराउने उद्देश्य पुरा गरेको सहभागी विद्यार्थीहरूले बताएका छन् ।  बीपी कोइराला नेपाली राजनीतिका एक उदात्त चिन्तक, लोकतन्त्रका सशक्त प्रवक्ता तथा प्रगतिशील साहित्यकारका रूपमा स्मरण गरिएको छ। कार्यबाहक सभापति कार्कीले  ूसुनको माछाू, ूतीन घुम्तीू लगायत कैयौं मननीय कृतिहरू लेखेका छन् भने नेपाली काँग्रेसको स्थापना गरी देशमा प्रजातन्त्र स्थापनाका लागि जीवनभर संघर्ष गरेको सहभागीलाई स्मरण गराउनुभयो ।  कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।