वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या बढिरहेको बताएका छन् । मंगलबार बसेको संसद्को महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले वैदेशिक रोजगारी जाने महिलाको संख्या बर्सेनि बढ्दै गएको बताए ।

उनका अनुसार, आर्थिक वर्ष ०७७र०७८ मा ६।८७ प्रतिशत, ०७८र०७९ मा ७।७९ प्रतिशत, ०७९र०८० मा ९।३५ प्रतिशत र आर्थिक वर्ष ०८०र०८१ मा ११ प्रतिशतभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन् ।

महानिर्देशक भट्टराईले कतिपय देशमा महिला श्रमिकलाई आधिकारिकरूपमा जान रोक लगाइए पनि अवैध बाटो भएर जाने क्रम बढेको बताए । अवैध बाटोबाट जानेहरूले विदेशमा विभिन्न समस्या र शोषण भोग्नुपरेको उनको भनाइ छ ।

विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भए पनि महिला श्रमिक नपठाउने भनेका देशहरूमा पनि महिला श्रमिक गएको र विभिन्न समस्या आएको छ । वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउन सक्छन् । सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ, उनले भने ।न्युज एजेन्सी नेपालबाट ।