आज कोशी, बागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरूले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले आगामी दिन दिन देशव्यापी रूपमा नै सबै प्रदेशहरूमा वर्षा हुने बताइन् । उनले भनिन्, ‘विगत २४ घण्टामा कोशी, गण्डकी प्रदेशमा थोरै स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको अवस्था छ । बाँकी कोशी  प्रदेश, मधेस, बागमती, गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ । आगामी तीन दिनको मौसमको कुरा गर्ने हो भने देशव्यापी रूपमा नै सबै प्रदेशहरूमा आजको लागि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको छ । हल्कादेखि मध्यम वर्षा सबै प्रदेशमा नै हुन्छ ।’

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । विगत २४ घण्टामा सय मिलिमिटर भन्दा बढी वर्षा मापन कोशी प्रदेशकै केही स्थान र गण्डकी प्रदेशका केही स्थानहरू रहेको उनले बताइन् ।