ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । 

नेपालमा जलविद्युत्‌को कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे । विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए । 

जलविद्युत् उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दिगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।