बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गतसाता स्टार्टअपलाई ५ करोड ७२ लाख लगानी जुटाइदिएको शोमा यससाता ७ करोड ४० लाख रुपैयाँको डिल भयो ।यससाता शोमा सर्वाधिक डिलको रेकर्ड रचियो । ‘वेद’ नामक स्कुल व्यवस्थापन प्रणालीमा कार्य गर्ने एपले शार्क हेमराज ढकालबाट ६ करोडको लगानी प्राप्त गर्‍यो । ‘शार्क ट्यांक नेपाल’मा यो अहिलेसम्मकै ठूलो डिल हो ।

शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्य राखिएको ‘वेद’ एपको व्यवसायिक अवधारणा र उद्यमशीलताको मोडलमा शार्क प्रभावित देखिए । केही शार्कले यो अवधारणा जोखिमपूर्ण रहेको भन्दै डिलबाट बाहिरिँदा शार्क ढकालले भने एक्लै ६ करोड लगानी, २० प्रतिशत इक्विटी र केपीआईको सर्तमा डिल सम्भव बनाइदिए । विद्यालयलाई डिजिटलमैत्री बनाउनको लागि विद्यार्थी, शिक्षक, अभिभावक र प्रशासनलाई एउटै प्रणालीमा आबद्ध तुल्याउन, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न प्रवर्धनको लागि भन्दै यो एपले ६ करोड रुपैयाँ मागेको थियो ।