सिंगापुरविरुद्ध दुई विकेटको जित निकाल्दै नेपाल एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो । शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ५३ बलमा तीन चौका प्रहार गरे । सिवान्स बजगाईंले २० रन थप्दा सुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७ र परिमार्जन यादवले १३ रन जोडे । अभय यादव १० रनमा अविजित रहे । सिंगापुरका कपिस वेन्कटरमनले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । युभव पाण्डेले दुई विकेट लिँदा आकाश तेजा र वेदान्स गुप्ताले समान एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको सिंगापुरले ४०।५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको थियो ।




















