इटहरी । कप्तान सावित्रा भण्डारी ‘साम्बा’को लगातार दोस्रो ह्याट्रिकसँगै नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ को छनोटतर्फ मजबुत कदम चाल्दैछ। समूह ‘एफ’ अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

तास्केन्तको मिल्ली स्टेडियममा भएको खेलमा कप्तान साम्बाले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई निर्णायक अग्रता दिलाइन् । सातौं मिनेटमै डिफेन्डर गीता रानाको गोलबाट नेपालले अग्रता लिएको खेलमा सावित्राले २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै व्यक्तिगत प्रदर्शनमा चमक दिइन् । 

दोस्रो हाफमा पनि नेपालले दबदबा कायमै राख्यो। गीता रानाले पेनाल्टीमार्फत दोस्रो गोल गर्दा, निशा थोकर र रेखा पौडेलले हेडरमार्फत गोल गरे। अन्तिम मिनेटमा पुजा रानाले क्लियर गर्न चुकेको बललाई जाली चुमाउँदै नतिजालाई ८–० मा र्पुयाइन् ।

नेपालले यसअघि पहिलो खेलमा लाओसमाथि ९–० को जित निकालेको थियो। लगातार दुई जितपछि नेपाल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। यता, लगातार हार भोगेको श्रीलंका भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।

आजै हुने उज्बेकिस्तान र लाओसबीचको खेलपछि समूहको समीकरण अझ स्पष्ट हुनेछ। यदि उज्बेकिस्तानले लाओसलाई पराजित गर्याे भने अन्तिम खेल नेपाल र उज्बेकिस्तानबीचको प्रत्यक्ष भिडन्त नै एसियन कपको टिकटका लागि निर्णायक हुनेछ।

कप्तानको उत्कृष्ट नेतृत्व

सावित्राको लगातार दोस्रो ह्याट्रिक नेपाली महिला फुटबलको इतिहासमै दुर्लभ उपलब्धि हो। उनले न केवल गोलमार्फत टोलीलाई जित दिलाइरहेकी छन्, तर मैदानमा नेतृत्व, आत्मविश्वास र खेल संयोजनमा समेत भूमिका निभाइरहेकी छन् । 

अबको चुनौती घरेलु टोली उज्बेकिस्तानसँग हुनेछ। एसियन कप पुग्ने सपना जीवित राख्न नेपालले अन्तिम खेलमा कम्तीमा बराबरीको नतिजा आवश्यक पर्न सक्छ — तर त्यो आजको खेलको नतिजामा निर्भर रहनेछ।

एएफसी महिला एसियन कपको ढोका खुल्दै

यो प्रतियोगिताको समूह विजेताले सन् २०२६ मा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ। त्यसले महिला फुटबलको अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई नयाँ अवसर र चुनौतीहरूको ढोका खोल्नेछ।