उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा चार गोलको अग्रता बनाएको छ ।

तास्केन्तस्थित मिल्ली स्टेडियमा भइरहेको खेलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको हो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले १  गोल गरेका छन् ।

डिफेण्डर गीताले सातौं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले २०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।