कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुने बताउनुभएको छ ।

आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको र यसबारेमा छानबिन हुने बताउनुभयो । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाबाट गएको असार १५ गते पारित भएपछि विवादित बनेको निजामती विधेयक आज राष्ट्रियसभामा सन्देशसहित टेबुल भएको छ । प्रतिनिधिसभाबाट पारित हुनुअघि दुई वर्षको कुलिङ पिरियडु राख्ने समितिमा सहमति भएको भए पनि ‘बाहेक’ शब्दका कारण विधेयक विवादित बनेको छ ।