नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ ।
सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो ।
नेपालले दिलएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो ।
इन्डोनेसियाका लागि केभिन चड्डाले १५ र दिभित नाडाले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए । ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनाएको थियो ।
नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतकीय पारी खेले । परिमार्जनले २८ बलमा ७१ रन बनाउँदा रौनकले ७१ बलमा ८८ र जोयले ४१ बलमा ५७ रन बनाए ।
नेपालका सुगम बुढाथोकीले ३९ रनको योगदान गरे । इन्डोनेसियका लागि केटुट दर्माले दुई विकेट लिँदा केभिन निरज चड्डा, महेन्द्र आजी र रहान रिजाले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल ३ खेलबाट ६ अंक जोडेर समूह ‘ए’ तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो सभएको सिंगापुरको ४ खेलबाट ६ अंक छ । सिंगापुर नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो । नेपालले यसअघिको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराउँदा जापानमाथि ९ विकेटको जित निकालेको थियो ।




















