अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए । इरानको सरकारी मिडियाले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ । तर, इजरायलबाट हालसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन । त्यसैले कुन समयबाट युद्धविराम लागु हुन्छ भन्ने स्पष्ट छैन ।

इरान र इजरायलबीच युद्धविरामको घोषणा भए पनि दुवै देशबीच आक्रमणहरू जारी रहेको सीएनएनले उल्लेख गरेको छ ।  इजरायलले मंगलबार बिहान इरानबाट धेरै मिसाइलहरू प्रहार भएको पहिचान गरेको बताएको छ । जसमध्ये एउटा मिसाइल दक्षिणी क्षेत्रको एक आवासीय भवनमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

 इरानी सरकारी मिडियाले इजरायलले रातभर इरानको राजधानी तेहरानमा आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइलहरू प्रहार भएको पहिचान गरेको र रक्षात्मक प्रणालीहरू सक्रिय गरिएको बताएको छ ।  “केही समयअघि इरानबाट इजरायलतर्फ मिसाइलहरू प्रहार भएको पहिचान भएपछि इजरायलका धेरै क्षेत्रमा साइरन बजे,” इजरायल रक्षा बल ९आईडीएफ०ले भन्यो,” यो समयमा, आईएएफ ९इजरायली वायुसेना०ले खतराहरूलाई नष्ट गर्न आवश्यक ठाउँमा अवरोध गर्ने र प्रहार गरिरहेको छ ।”

यो मिसायल इरानका विदेशमन्त्रीले शत्रुता समाप्त भएको संकेत गरेपछि र इजरायलले तेहरानको स्थानीय समयअनुसार बिहान ४ बजेसम्म इरानमाथिको आक्रमण रोकेमा इरानले आफ्नो सैन्य जवाफ रोक्ने बताएपछि आएको हो ।