दुलारी – दुलारी युवा स्पोर्टिङ्ग क्लबको आयोजनामा जारी दोस्रो दुलारी कप नकआउट फुटबल प्रतियोगितामा रामधुनी युवा क्लब क्बाटरफाइनलमा प्रवेश गरेको छ।
जेठ २ गते आइतबार सम्पन्न खेलमा रामधुनीले युवा क्लब सुन्दरहरैंचालाई १–० को झिनो अन्तरले पराजित गर्दै क्बाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। टिमका लागि एक मात्र निर्णायक गोल साहील चौधरीले गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेवापत चौधरीलाई ‘म्यान अफ दी म्याच’ घोषित गर्दै आयोजकले नगद १ हजार रुपैयाँ प्रदान गरेको थियो।
प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुने छ, जसमा कुल १० टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको विजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।




















