एजेन्सी। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन्।

उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो। इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन्।

‘यो केवल एक दिनको हमला होइन,’ स्रोतले भने। इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ।

तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द

इरानले जारी गरेको नोटमका अनुसार राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ । नोटम भनेको विमान उडान गर्नुअघि सबै पाइलटहरूले पढ्नुपर्ने सूचना बुलेटिन हो।

तेहरानमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ। सीएनएनका इसाक यीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा कम्तिमा दुई विस्फोट सुनेको छु।’ विस्फोटहरू कुनै एक ठाउँमा मात्र नभई सहरका विभिन्न भागहरूमा भएका छन्।

इरानी सरकारी टेलिभिजन आईआरआईबीले पनि विस्फोटहरू पुष्टि गरेको छ र घटनाका केही दृश्यहरू देखाएको छ।

इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका 

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सो जानकारी दिएका हुन्।

‘आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी उक्त हमलामा संलग्न छैनौँ, र हाम्रो प्रमुख प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो,’ उनले वक्तव्यमा भनेका छन्।

‘इजरायलले यो कारबाही आत्मरक्षाका लागि आवश्यक भएको विश्वास व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा फौजको सुरक्षा गर्न आवश्यक सबै कदम चालेका छन् र हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौँ। म स्पष्ट भन्न चाहन्छुस् इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन,’ रुबियोले भने।