रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकमा एक महिलासहित उनका दुई छोरीको गएराति विभत्स हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटना हत्या अभियुक्त र मृतकबीचको पुरानो सम्बन्धसँग जोडिएको पाइएको जनाएको छ ।
हत्यामा संलग्न व्यक्ति सुजन कोइराला ३४ वर्षीय दीपा बस्यालका पूर्वपति हुन्। पाल्पाको प्रभाव–११ घर भएका कोइराला र दीपाबीच एक दशकअगाडि सम्बन्ध विच्छेद भएको थियो । डिभोर्सपछि दीपाले नवलपरासीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। ढकालबाट ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी नामकी दुई छोरी थिए । ढकालसहित दुई छोरीको शव हत्या भएको अवस्थामा बुधबार बिहान फेला परेको थियो ।
घटनामा मारिएका दुई बालिकाहरू दीपका हालका पति ढकालतर्फका सन्तान हुन् । दीपाको पहिलो पति सुजन कोइरालाबाट भने कुनै सन्तान थिएनन् । प्रहरीका अनुसार सुजन कोइरालाले २०६९ सालमा आफ्नै दाजुको हत्या गरी जेल परेका थिए । कास्की कारागारमा सजाय काटिरहेका उनी २०७८ असोज ३ गते संविधान दिवसको अवसरमा आममाफी पाई छुटेका थिए ।
प्रहरीका अनुसार छुटेपछि कोइराला बुटवलको होराइजन चोकस्थित आफ्नै घरमा बस्दै आएका थिए। दीपाको हालको श्रीमान् शंकर ढकाल रोजगारीका लागि दुबईमा छन् । यसबीचमा दीपा बेला–बेला सुजनको घर जाने गरेको स्थानीयहरूले बताएका छन् ।
हत्या आरोपमा सुजन कोइराला प्रहरी नियन्त्रणमा छन्। अहिले इलाका प्रहरी कार्यालय बुटवलले घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार कोइरालाले सोधपुछका क्रममा पटक–पटक हत्या आफूले आवेशमा गरेको बताएका छन्।




















