नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको लागि मातहतका समितिलाई वैशाख मसान्तसम्मको समय दिएको छ ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले वैशाख मसान्तसम्मको समय दिएको समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।  उक्त समितिमा चौधरीसहित सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) समेत सदस्य छन् ।

‘क्रियाशील सदस्यता नवीकरणका लागि जिल्ला समितिहरूलाई वैशाख मसान्तसम्मको समय दिने निर्णय समितिको आजको बैठकले गरेको छ,’ चौधरीले रातोपाटीसँग भने, ‘उनीहरूले सदस्यता नवीकरणको काम अनलाइनमा गर्नुपर्छ । हामीले पार्टी वेबसाइटमा वैशाख मसान्तसम्मका लागि जिल्लालाई क्रियाशील सदस्यता नवीकरण गर्न एक्सेस दिन्छौँ ।’

मसान्तसम्म नसकेमा एक्सेस स्वतः बन्द गर्ने निर्णय पनि समितिले गरेको चौधरीको भनाइ छ । नवीकरणको काम सकेपछि मात्रै नयाँ सदस्यताबारे प्रक्रिया अघि बढाउने निर्णयसमेत समितिको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत पुस १९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर चैत मसान्तसम्म नवीकरण गरिसक्न निर्देशन दिएको थियो । 

केन्द्रीय कार्यसमितिको सोही निर्देशन बमोजिम समिति संयोजक महामन्त्री थापाले गत माघ ३ गते ७७ वटै जिल्ला समिति सभापतिहरूलाई परिपत्र गर्दै चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म  क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए । 

परिपत्रमा बोधार्थ र कार्यार्थ सबै प्रदेशका सभापति, सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै प्रदेशसभा क्षेत्रीय कार्यसमिति, सबै पालिका सभापति र सबै वडा सभापतिलाई दिइएको थियो ।  

विवाद रहेका जिल्लामा नवीकरण नटुंगिएपछि चैत मसान्तमा १५ दिन म्याद थप्ने निर्णय समितिले गरेको थियो । त्यो समयमा पनि नसकेपछि आज पुनः वैशाख मसान्तसम्मको समय दिने निर्णय समितिले गरेको हो । 

कांग्रेसमा पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले गत निर्वाचन र उपनिर्वाचनमा बागी उठेका र उनीहरूको प्रस्तावक, समर्थक बसेका तथा सहयोग गरेकाहरूविरुद्ध परेको उजुरी फर्स्यौट नगरिदिँदा क्रियाशील नवीकरण प्रभावित बनिरहेको छ ।

आनन्दप्रसाद ढुंगाना संयोजकत्वको अनुशासन समितिमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम, र राजीव कोइराला सदस्य छन् । गुटगत रूपमा बनाइएको समितिले आफ्नो गुटका नेता कारबाही गर्न लागेमा नगर्न वकालत गर्दा समिति अनिर्णीत बनिरहेको छ । उजुरी फर्स्यौट गर्ने विषयमा शीर्ष तहमा सहमति हुन नसकेकाले त्यसको प्रभाव क्रियाशील नवीकरणमा परिरहेको छ ।