वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ । वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए । 

‘सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हामी उपलब्ध गराउँछौँ’, उनले भने, ‘सामुदायिक वनलगायत संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्छन्, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।’ उनका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्रीसहित कर्मचारी पनि खटिन्छन् ।

डढेलो लाग्न नदिन सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्यसँगै वन क्षेत्रमा अग्निरेखा तयार गर्ने, चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अगाडि बढाइएको उनको भनाइ छ । यो वर्ष हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहेको उल्लेख गर्दै कार्यालय प्रमुख ठाकुरले तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेर गएको बताए ।