चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कानुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक यहाँ भित्रिएका हुन् । यसैगरी ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।
यस आवको तीन महिना बाँकी नै रहँदा नेपाली आन्तरिकतर्फ साउनमा १० हजार ९८३, भदौमा १७ हजार ४९२, असोजमा ४७ हजार २९३, कात्तिकमा ९९ हजार १७६, मङ्सिरमा ५८ हजार ४४३, पुसमा २८ हजार ७२२, माघमा २४ हजार ८०२, फागुनमा ४६ हजार ९३४ र चैत १८ गतेसम्ममा ४४ हजार ८०६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी, विदेशीतर्फ साउनमा तीन हजार ५४, भदौमा छ हजार ३४७, असोजमा १२ हजार ५३८, कात्तिकमा १४ हजार १२४, मङ्सिरमा सात हजार ४६४, पुसमा छ हजार ८३५, माघमा तीन हजार ४५६, फागुनमा नौ हजार २३८ र चैत १८ गतेसम्ममा १३ हजार ४०५ जनाले जिल्लाको भ्रमण गरेका छन् ।रासस




















