इटहरी  :  रासायनीक मलको अभावले सुनसरीका कृषकहरू समस्यामा पारेका छन् । बालीमा मलको आबस्यता पर्दा पनि मल किन्न नपाँउदा समस्या ठुलो बन्दै गएको हो । 

बजारमा कृषकहरू मल खरीद गर्न आएपनि अधिकांशले खाली हात फर्कनुपरेको बताएका छन्। इटहरी–६ का अर्जुन सुबेदीले दुई बिगाहामा लगाएको मकैको लागि मल नपाएपछि बाली नफल्ने हो की भन्ने चिन्ता व्यक्त गरेका छन्। मकैमा घोगा लाग्ने समय भएकोले यतिखेर मलको अत्यन्त आबस्यक पर्ने उनले बताए । यस्तै, प्रकाशपुरका बिश्वास कार्की पनि मलको अभावले समस्या भइहेको बताउछन् । उनले मलको लागी इटहरी धाएको हप्तौं भईसकेको तर आज सम्म मलको एक दाना पनि नपाएको बताउछन् ।  

इटहरी–१७ का लहेरु चैधरीले पनि मल नपाएको ब्यक्त गरेका छन् । मुख्य सिजनमा पनि मल किसानले पाउँदैनन् कसरी गरी खाने ? चिन्ता ब्यक्त गरेका छन् । दाहालले भने,‘तीन बिगाहा खेतमा मकै लगाइएको छ, बालीले मल खोजेको देखिन्छ तर केही गरी मल हाल्न पाईएन।, आम्दानी गर्न लगाएको बालीले ऋणमा पुर्याउने जस्तो छ ।’

यता,कृषि सामाग्री कम्पनी इटहरीका प्रमुख रामकुमार चौधरीले यस वर्ष कृषकहरूले बढी मकैखेती गरेका कारण मलको खपत अत्यधिक भएको र वितरणमा कमी आएको बताएका छन् । तोरी, आलु र गहुँको लागि मलको आवश्यकतामा कमी आइ सकेको थियो, तर मकै खेतीको कारण खपत बढी भएकोले मलको अभाव भएको बताएका छन् । 

तराईका जिल्लामा हिउँदे नगदे बाली लगाउन रासायनिक मलको ठूलो माग रहेको छ । गत वर्ष कृषि सामाग्री कम्पनी इटहरीले सुनसरी जिल्ला भरी एघार हजार मेट्रिक टन मल बिक्री गरेको थियो । तर यो बर्ष त्यती पर्याप्त नभएको कम्पनीले बताएको छ । सामाग्री कम्पनी इटहरीका प्रमुख चौधरीले मलको आपूर्तिका लागि पत्र पठाइसकेको र केहि दिनमा समस्या समाधान हुने बताएका छन् । 

कृषकहरूको रासायिनीक मल अभावले कृषि उत्पादनमा नकारात्मक प्रभाव पारिरहेको जनाएका छन् ।