मौद्रिक नीतिको एउटा व्यवस्थाले सेयर बजारमा उत्साह ल्याएको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेको हो । 

योसँगै बजार २८१५.०४ अंकमा पुगेको छ । परिसूचक बढेको नेप्सेमा कारोबार रकम समेत बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।  आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बजारमा सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहको भएको छ । सो समूहको परिसूचक ३।३२ प्रतिशतले बढेको हो । त्यस्तै उत्पादन तथा प्रशोधनमूलक उद्योग परिसूचक पनि २।९१ प्रतिशत विन्दुले बढेको छ । आज सबै उपसूचक बढ्दा उल्लेखित बाहेक ६ उपसूचकको वृद्धि १ प्रतिशत भन्दा धेरै देखिएको छ ।  आज बजारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । यसरी सर्किट लेभलमा कारोबार भएका कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अपर हेवाखोला जलविद्युत्, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युत् कम्पनी रहेका छन् । भुगोल इनर्जीको ७।१७ प्रतिशतले घटेको मूल्य नै आजको सर्वाधिक गिरावट रह्यो ।