नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधिका लागि छिमेकी भारतसँग प्रतिस्पर्धा गरिरहेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल तीन सेट सकिदा नेपालले २(१ को अग्रता लिएको छ।
पहिलो सेट २५(२३ जितेको थियो। पहिलो सेटमा नेपालले २०(२३ ले पछि परेको अवस्था उल्टाउँदै लगातार पाँच अंक ल्याएको जितेको थियो।दोस्रो सेटमा नेपाल २५(१४ ले पराजित हुँदा खेल १(१ को अवस्थामा आयो।
तेस्रो खेलमा नेपाल खेलमा फर्कियो। नेपालले २५(२२ ले जितेर २(१ को अग्रता लियो।
भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर छ। त्यसो त नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनाइसकेको छ। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो।
समूह चरणमा नेपालले इरानसँगको खेल गुमाउँदा शीर्ष स्थानमा रहने मौका भने गुमाएको थियो। तर सेमिफाइनलमा इरानसँग भिडेर नेपालले बदलामा मात्र लिएन फाइनलमा समेत स्थान पक्का गर्न सफल भयो।
महिला भलिबल टोलीले पछिल्लो पाँच वर्षमा दुई अन्तर्राष्ट्रिय उपाधि जितेको छ। तर ती दुवै उपाधि विदेशी भूमिमा जितेकाले बुधबार नेपालका लागि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसर छ।




















