इटहरी — तेस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २ गतेदेखि ९ गतेसम्म इटहरीस्थित जनता क्याम्पसको मैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले ४ लाख ४४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताका आयोजक द योङ ब्रदर्श क्लब ले शनिबार पत्रकार सम्मेलन गर्दै यस वर्ष पुरस्कार राशी गत संस्करणको तुलनामा दोब्बरले वृद्धि गरिएको जानकारी दिएको हो ।

क्लबका अनुसार प्रतियोगितामा नेपाल तथा भारतका गरी ८ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूलाई औपचारिक पत्राचार गरिसकिएको र अन्तिम टिम छनोट आगामी हप्ताभित्र टुङ्गो लाग्ने क्लबका संरक्षक विकास केसीले बताए ।

IMG20251213091652

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता प्रत्येकलाई १३–१३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता इटहरी उप–महानगरपालिकाको संयोजन तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संरक्षण मा आयोजना हुन लागेको आयोजक पक्षले जनाएको छ ।

स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरका टोलीको सहभागितासँगै प्रतियोगिताले इटहरीको खेलकुद गतिविधिलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।