सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा भएको ड्रोन आक्रमणमा एक किन्डरगार्टेन निशाना बनेको र यसमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ।

सुडानको सेनासँग गृहयुद्ध लडिरहेको अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० माथि सेना र एक चिकित्सा संस्था, सुडान डक्टर्स नेटवर्कले बिहीबारको उक्त आक्रमण गरेको आरोप लगाएका छन्। आरएसएफले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

सेना निकट विदेश मन्त्रालयका अनुसार किन्डरगार्टेनमा ड्रोनबाट दुई पटक मिसाइल प्रहार गरिएको थियो। आक्रमणपछि विद्यालय पुगेका सर्वसाधारण र चिकित्सकहरूलाई पनि निशाना बनाइएको मन्त्रालयले थप जनाएको छ 

युनिसेफका प्रवक्ता शेल्डन येटले कालोगीमा भएको हमलाको प्रतिक्रिया दिँदै भने, ‘बालबालिकाहरूलाई उनीहरूको विद्यालयमा मार्नु बाल अधिकारको भयानक उल्लङ्घन हो। द्वन्द्वको मूल्य बालबालिकाले कहिल्यै तिर्नु हुँदैन।’ 

उनले सबै पक्षलाई यस्ता आक्रमणहरू तत्काल रोक्न र अति आवश्यक मानवीय सहायता पुर्‍याउन सुरक्षित पहुँच दिन आग्रह गरेका छन्।