इटहरी: हिमशिखर इङ्लिस स्कुलले केआइइसी सेभेन ए साइड फुटसल प्रतियोगितामा लगातार तेस्रो वर्ष उपाधि जित्दै ऐतिहासिक ह्याट्रिक गरेको छ। इटहरी कव्यबाटिका स्थित पाथीभरा फुटसलमा मंगलबार सम्पन्न तेस्रो संस्करणको फाइनलमा हिमशिखरले खनार सनसाइन सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएकाे हाे।
निर्णायक खेलमा ‘म्यान अफ द म्याच’ घोषित आयुस राईले एक मात्र गोल गर्दै टोलीलाई जित दिलाए। यस शानदार जितसँगै हिमशिखरले नगद ४० हजार रुपैयाँ र ट्रफी आफ्नो बनायो।
उपविजेता सनसाइन स्कुलले पनि प्रभावशाली प्रदर्शन गरे तापनि १–० को झिनो अन्तरले चुक्नु पर्यो। उनीहरूले नगद २० हजार रुपैयाँमा चित्त बुझाए।
व्यक्तिगत विधामा पनि हिमशिखरकै दबदबा
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमशिखरका संम्योग राई घोषित भए, जसले २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरे। उत्कृष्ट गोलकिपरको उपाधि सनसाइनका आशिष् मगरले जिते भने, सर्वाधिक गोलकर्ता सुमन चौधरी भए। दुवै जनाले जनही २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
उदयमान खेलाडीको रूपमा हिमशिखरका रायन क्षेत्रीले पहिचान बनाए, भने फेयर प्ले टिमको उपाधि कस्तुरी एकेडेमीले जित्यो।
२८ विद्यालयको सहभागिता
दुई दिनसम्म चलेको यो प्रतियोगितामा सुनसरीका २८ विद्यालयले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता आयोजक अल स्पोर्टस कलेक्सनका प्रमुख विमल मगरले विद्यालय फुटसलको स्तर दिनप्रतिदिन उकालो लागिरहेको जानकारी दिए।
विजेता तथा उपविजेता टिमलाई इटहरी वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल, एन्फा कोसीका सह-महासचिव केशव कार्की, पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदी, प्रेस युनियन सुनसरी अध्यक्ष ध्रुव ढकाल, केआइइसी इटहरीका उमेश भण्डारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।




















