इटहरी — विद्यालयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इटहरीमा तेस्रो संस्करणको सेभेन ए साइड फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । सोमबारदेखि सुरु हुने दुईदिने प्रतियोगितामा सुनसरी जिल्लाभरिका २८ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक अल स्पोर्टस् कलेक्सनका अध्यक्ष विमल मगरका अनुसार, बालबालिकाको खेल प्रतिभा उजागर गर्न र फुटबलप्रतिको रुचि बढाउन प्रतियोगिता आयोजना गरिएको हो । ‘विद्यालय स्तरमा खेलकुदमा निरन्तरता दिन सक्नुपर्ने आवश्यकता थियो,’ मगरले बताए, ‘यसपटक २८ विद्यालयको सहभागिता नै ठूलो उपलब्धि हो ।’

प्रतियोगिताको विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित आकर्षक शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २० हजार रुपैयाँ पाउनेछ । साथै, उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति र विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनमा करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विद्यालयस्तरको खेलकुद गतिविधिमा निरन्तरता र गुणस्तर ल्याउन यो प्रयास महत्वपूर्ण बन्ने आयोजकको विश्वास छ । फुटसलजस्ता लोकप्रिय खेल माध्यमबाट बालबालिकामा अनुशासन, टीमवर्क र प्रतिस्पर्धात्मक क्षमताको विकास अपेक्षा गरिएको छ ।