प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्वको पहिलो दिनको जात्रा आज विधिपूर्वक मनाइएको छ । उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी पहिलो दिनको गाईजात्रा मनाइएको हो ।

गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सिपल्ट जयवागेश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा र अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालदेखि सुरु भएको हो । एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर  दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको र्‍याली निकालिएको थियो । 

यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान,इटहरी विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरा लगायतका सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।