अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् । 

बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्केतिक विरोध गरेका हुन् । चाँगुनारायण नगरपालिका–९ अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत अधुरो रहेकाले थप जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । 

अध्यक्ष सुरेशराज गिरीले रामसीता मन्दिरसँगैको सडकमै समूहले हस्ताक्षरसहित ‘ब्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई जानकारी गराइएको बताए । उनले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर साङ्केतिक विरोध गरेको बताए । 

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले वि।सं। २०१६ मा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामाङ्करण गरिएको छ ।रासस