देशका दुई प्रदेशका एक–दुई स्थानमा आइतबार दिउँसो भारी वर्षाको पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन देशभर साधारणतया बदली बादलरवर्षाको पूर्वानुमान छ । कतिपय स्थानमा मध्यम वर्षाको सम्भावना छ । “कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
महाशाखाले अगाडि भनेको छ, “कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा यस दिन राति पनि देशभर साधारणतया बदली रहने उल्लेख छ ।
राति तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ । मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ ।




















